.jpg)
ललितपुरको ग्वार्कोमा बन्न थालेको फ्लाइओभरको निर्माणमा विलम्ब भइरहेको छ । फ्लाइओभर निर्माण सुरु गरेको ३४ महिना बित्न थाल्दा पनि सम्पन्न भएको छैन ।
दुई वर्षभित्र सक्ने गरी ०७८ फागुनमा गरिएको सुरु सम्झौताअनुसार फ्लाइओभरको निर्माण गत २०८० फागुन १२ गतेभित्र सक्नुपर्ने थियो । तर काम नसकिएपछि गत असारसम्म काम सम्पन्न गर्न दोस्रोपटक म्याद थपिएको थियो । गत असरसम्ममा पनि काम नसकिएपछि गत ९ गतेसम्म बनाएर सक्न भन्दै तेस्रोपटक म्याद थपिएको थियो ।
तेस्रोपटक म्याद थप्दा पनि काम नसकिएपछि ग्वार्को फ्लाइओभरमा जरिवाना लगाएर काम गराइएको छ । २०८१ पुस ९ गतेसम्म थपिएको म्यादमा पनि काम नसकिँदा सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले निर्माण व्यवसायीलाई गत पुस १० बाट दैनिक जरिवाना लगाएर काम गराउँदै आएको छ ।
केन्द्रका निर्देशक प्रभातकुमार झाका अनुसार अहिले कोटेश्वर र सातदोबाटो दुवैतर्फ काम भइरहेको छ । उनका अनुसार भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा भएको छ । वित्तीय प्रगति भने ४५ प्रतिशतका हाराहारीमा भएको छ ।
आवतजावतको संरचनासहित ५४० मिटर लामो फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का भएको थियो । यसलाई बनाउन आशिष-समानान्तर-रेलिगेर जेभीले ठेक्का लिएको छ । निर्माण सकिएको ५ वर्षसम्म मर्मतसम्भारको काम पनि ठेकेदारले नै गर्नुपर्नेछ ।
डिजाइन कन्ट्रयाक्टरकै हुने भएकाले पहिले दिएको डिजाइनमा जोखिम हुने देखिएकाले कन्ट्रयाक्टर स्वयंले डिजाइन परिवर्तन गरेको निर्देशक झाको भनाइ छ । ‘अहिलेको कन्ट्रयाक्ट रकम १७ करोडभन्दा माथि रहेको छ । यो ईपीसी कन्ट्रयाक्ट हो यसमा भेरियसन भन्ने छैन त्यसैले यही लागतमा नै संम्पन्न हुन्छ,’ केन्द्रका निर्देशक झाले सक्रिय न्युजसँग भने, ‘कन्ट्रयाक्टरले सुरुवाती चरणमा डिजाइन परिवर्तन गर्यो, ईपीसी मोडेल हो, त्यसैले डिजाइन कन्ट्रयाक्टरकै हुने भयो । कन्ट्रयाक्टरले प्रारम्भिकमा एक खालको डिजाइन दियो र पछि डिजाइनमा जोखिम हुने जस्तो भएपछि डिजाइन परिवर्तन गरियो त्यसले गर्दा काममा ढिलाइ भएको हो तर अहिले काम भइरहेको छ ।’
कन्ट्रयाक्टरले अहिले हर्जानामा काम गरिरहेको र यसलाई म्याद थप भन्न नमिल्ने पनि केन्द्रका निर्देशक झाको भनाइ छ । उनले भने,‘अब अहिलेका लागि काम सम्पन्न हुन्छ भन्ने आश गरेका छौं हामीले तोकेको समयभन्दा कन्ट्रयाक्टरले आफ्नो काम चैत मसान्तमा सक्ने भनिएको छ तेस्रोपटक म्याद थप भएको छैन । म्याद थप एकपटक भएको हो जुन पुस ८ गतेसम्म थियो त्यसपछि अहिले हर्जनामा म्याद थप भन्ने हुँदैन । यो कन्ट्रयाक्टमा हर्जाना भइसकेको छ म्याद थप भन्ने भएन । अधिकतम २०० दिनमा सक्नुपर्ने हुन्छ । कन्ट्रयाक्टमा ५ वर्ष सम्मका लागि डिजाइनको जोखिमदेखि लिएर निर्माणको जोखिम कन्ट्रयाक्टरले लिनुपर्नेछ ।’
विस्तृतमा हेर्नुहोस् :
सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका महानिर्देशक प्रभातकुमार झासँग सक्रिय न्युजले गरेको भिडियो कुराकानी ।