
कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ पेस भएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले अध्यादेशसँगै मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको शर्त सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सदनमा प्रस्ताव गर्दै प्रदेश सरकारले गर्ने मानवीयदेखि अन्य कामलाई सहज बनाउन यो ऐन ल्याएको बताए ।
उनले सरकारले विपद्का क्षेत्रमा धेरै काम गर्नु पर्ने र मौजुदा ऐनमा भएको त्रुटिले काम गर्न समस्या भएकाले अध्यादेश ल्याएको जानकारी दिँदै सरकार शान्ति सुरक्षाका विषयमा गम्भीर रहेको बताए ।
सभामा सभामुख अम्बरबहादुर विष्टद्वारा सदनमा अनुमोदनका लागि पेस गरिएको बाधा अड्काउ फुकाउने आदेश सर्वसम्मतिले पारित भएको छ ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुको बोल्ने क्रममा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले चालु आर्थिक वर्ष २०८१- ८२ का लागि प्रदेश सरकारले ल्याएको बजेटमा सन्तुलन कायम नभएकाले कार्यान्वयनमा समस्या आएको उल्लेख गर्दै सरकारले यसमा सुधार गर्नुपर्नेमा जोड दिए ।
उनले आफूमाथि भएको आक्रमण सुनियोजित नभएकाले कारबाही नगर्न प्रदेश सरकारलाई आग्रह गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेङ्याङ्बोले सरकारले हिउँदे अधिवेशन उचित समयमा सुरु गरेको बताए । उनले सुखी नेपाली र समृद्ध नेपाल बनाउने सङ्कल्प पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए।