तनहुँ, माघ ९ :

जिल्लाको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु गरिएको छ ।

चितवनको भरतपुरबाट देवघाट जाने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल मर्मत थालिएको हो । 

तनहुँको देवघाट गाउँपालिका- ५ र चितवनको भरतपुर महानगरपालिका- १ जोड्ने उक्त पुलमा निर्माण अवधिभर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मोटरसाइकल सञ्चालनमा रोक लगाइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए ।

मोटरसाइकल आवागमन रोक लगाएर पुल मर्मत भइरहेको उनले बताए ।

समितिले आफ्नो भौगोलिक कार्यक्षेत्रभित्र पर्ने त्रिशूली नदीमाथिको उक्त झोलुङ्गे पुल जीर्ण भएकाले ‘सस्पेन्सन बृज’ डिभिजन कार्यालय पुल्चोक, ललितपुरबाट खटिएका प्राविधिकको टोलीले मर्मत गरिरहेको जनाउँदै मर्मतमा सहकार्य र समन्वय गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

स्थानीयवासी, भक्तजन तथा अन्य सर्वसाधारणलाई सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन पुल मर्मतमा आवश्यक सहयोग गर्न समितिले अनुरोध गरेको छ । 

पुल मर्मत पूरा नहुँदासम्म उक्त अवधिभर मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उनले बताए । पुल मर्मतका लागि प्राविधिक र मजदुर गरी छ जना खटिएका छन् । 

वि. सं २०३७ मा निर्मित उक्त झोलुङ्गे पुल जीर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आइएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

दैनिक हजारौँ आवतजावत गर्ने उक्त पुलको केही दिन अघि पत्ताको केही भाग उप्किएर बाँसको कप्टेरो राख्नु परेको थियो ।