
मोरङ, साउन ३० :
मोरङको बेलबारी-३ करमडाँडास्थित अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृत अवस्थामा भेटिएको छ ।
स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज विहान मृत फेला परेको बेलबारी नगरपालिका-३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
सवडिभिजन वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल बेसक्याम्प लक्षीमार्गको टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउन सुरु गरेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख हेमन्त पराजुलीले जानकारी दिनुभयो ।
छावाको मृत्युको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो । सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली पनि घटनास्थल पुगेको छ ।