वीरगञ्ज, माघ ९ :

सशस्त्र प्रहरी बलको सक्रियतामा चालु आर्थिक वर्ष २०८१- ८२ को छ महिनाको अवधिमा गत आर्थिक वर्षको भन्दा छ करोड ६८ लाख ५३ हजार बढि मूल्य पर्ने भन्सार छलीका सामान बरामद भएको छ। 

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टरका गणपति राधेश्याम धिमालले चालु आवको छ महिनामा भन्सार छली गरेर भित्र्याइएका २१ करोड २८ लाख २६ हजार मूल्य पर्ने सामान बरामद गरेको जानकारी दिए ।

सशस्त्र प्रहरीले अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस्, खाद्यपदार्थ र किरानाका सामान बरामद गरेको हो । उनले सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार नाकामा दुईवटा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आइरहेको जानकारी दिए ।

सशस्त्र प्रहरी बलले चालु आवको छ महिनामा १६ करोड ४७ लाख ४१ हजारको भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस्, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ । 

त्यस्तै सोही अवधिमा चार करोड ६० लाख ८५ हजार मूल्य पर्ने बिलबिजक नभएका सामान भने पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ ।
 
सशस्त्र प्रहरीले आव २०८०-८१ को  छ महिनामा भन्सार छली गरेर भित्र्याइएको चार करोड ७७ लाख मूल्यका सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको थियो । 

पर्सा जिल्लामा एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग खुला रूपमा जोडिएको छ ।