
महाराजगञ्जस्थित टिचिङ अस्पतालले पूर्ण रुपमा स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको छ ।
अस्पतालले एक सूचना निकाल्दै अबदेखि अस्पतालमा भर्ना भएका बिरामीले समेत स्वास्थ्य बिमामार्फतको सेवा पाउने निर्णय गरेको अस्पतालका प्रशासन प्रमुख सरस्वती गुरुङले जानकारी दिए ।
यसअघि स्वास्थ्य बिमा बोर्डले लागू गरेको नयाँ दररेट अस्पतालको दरभन्दा फरक परेको भन्दै अस्पतालले गत भदौ १२ गतेदेखि ओपिडी र इमरजेन्सी सेवा मात्रै स्वास्थ्य बिमा कार्यक्रम लागू गर्दै अन्य सेवा बन्द गरेको थियो । त्यस यता भर्ना भएका बिमित बिरामीले बिमा सेवा सुविधा लिन पाएका थिएनन् ।
गत भदौमा बोर्डले जारी गरेको उपचार सुविधासम्बन्धी नयाँ प्याकेजमा असहमतिसँगै अस्पतालले बिमितको उपचार गरेबापत पाउनुपर्ने सोधभर्नाको ठुलो रकम नआउँदा बाध्यभएर कार्यक्रम आंशिक रुपमा स्थगित भएको अस्पतालका निमित्त निर्देशक डा.घनश्याम गुरुङले जानकारी दिए ।
डा.गुरुङका अनुसार अस्पताले स्वास्थ्य बिमा बोर्डबाट करिब ६९ करोड रकम लिन बाँकी छ ।