
नेपालमा डिजिटल शिक्षालाई अगाडि बढाउन र प्रतिभा विकासलाई बढावा दिन गण्डकी प्रदेशमा चिनियाँ दूतावासले स्मार्ट कक्षा सञ्चालनमा ल्याएको छ ।
नेपालस्थित चिनियाँ दूतावासले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको सहकार्यमा गण्डकी प्रदेशमा पहिलोपटक स्मार्ट कक्षाको सुरुवात गरेको हो । हुवावेको अत्याधुनिक शैक्षिक प्रविधिले सुसज्जित कक्षा कोठा माघ ६ गते लमजुङको क्ह्लोसोथार गाउँपालिकास्थित बुद्धोदय माविमा उद्घाटन गरिएको थियो ।
यस परियोजनामा प्रमुख साझेदारका रूपमा हुवावेले अत्याधुनिक सिकाइ समाधानहरू प्रदान गरेको छ, जसमा हुवावे आइडिया हब (इन्टरएक्टिभ ह्वाइट बोर्ड), ल्यापटपहरू, डेस्कटपहरू, वाइ-फाइ, पूर्वाधार र समग्र अनलाइन सिकाइ प्लेटफर्महरू समावेश छन् ।
यो पहलले डिजिटल खाडललाई कम गर्न मद्दत गर्छ, जसले दुर्गम क्षेत्रका विद्यार्थीलाई उच्च-गुणस्तरको शैक्षिक सामग्रीमा पहुँच र विश्वव्यापी स्तरमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने कुरा सुनिश्चित गर्छ ।
उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसहित प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए । जसले ग्रामीण नेपालमा शैक्षिक चुनौतीहरूलाई सम्बोधन गर्न यस पहलको महत्त्वलाई प्रकाश पारेका थिए । मन्त्री गुरुङले भने, ‘यो पहलले ग्रामीण नेपालमा डिजिटल खाडललाई कम गर्ने र शैक्षिक अवसरहरू बढाउने दिशामा एक महत्त्वपूर्ण कदमको संकेत गर्छ । विद्यालयमा उन्नत प्रविधि ल्याउन चिनियाँ दूतावास, हुवावे नेपाल र सञ्चार मन्त्रालयबीचको सहकार्यको म प्रशंसा गर्दछु ।’
नेपालका लागि चीनका राजदूत चेन सोङको विशेष भिडियो सन्देशमा भनिएको छ, ‘यो परियोजना चीन-नेपाल सहयोग र डिजिटल शिक्षा बढाउने हाम्रो प्रतिबद्धताको प्रदर्शन हो । बुद्धोदय माविलाई नवीनतम स्मार्ट कक्षाकोठा समाधानहरूले सुसज्जित गरेर, हामी प्रतिभाको अर्को पुस्तालाई बढावा दिने, प्रविधिमार्फत शिक्षामा रहेको खाडललाई कम गर्ने लक्ष्य राख्छौं । हामी यो दृष्टिकोणलाई वास्तविकता बनाउन हुवावेसँग साझेदारी गर्न पाउँदा गर्व गर्छौं र नेपालभरि यस्तै पहलहरूको लागि तत्पर छौं ।’
हुवावे नेपालका प्रमुख प्राविधिक अधिकृत ली सियाओवेईले परियोजनाको बारेमा आफ्नो उत्साह व्यक्त गरे । ‘हुवावेमा, हामी जीवन सुधार गर्न प्रविधिको शक्तिमा दृढ विश्वास गर्छौं । चिनियाँ दूतावास र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपालसँगको यो सहकार्य ग्रामीण नेपालका विद्यार्थीहरूले आधुनिक शैक्षिक उपकरणहरू र स्रोतहरू पहुँच गर्न सक्ने सुनिश्चित गर्न एक महत्त्वपूर्ण कदम हो,’ उनले भने, ‘हामी यो स्मार्ट कक्षाकोठा पहलबारे उत्साही छौं र नेपालको शैक्षिक र प्राविधिक प्रगतिमा थप योगदान पुर्याउन तत्पर छौं ।’