
ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ५९औं बैठकले ज्योति विकास बैंकबाट मनोनीत भई आएकी बैंकका प्रमुख वित्त अधिकृत उमा श्रेष्ठलाई क्यापिटलको सञ्चालक पदमा नियुक्त गरेको छ ।
बैंकिङ क्षेत्रको व्यवस्थापन तहमा १२ वर्षभन्दा बढीको अनुभवी श्रेष्ठसँग ज्योति विकास बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा सफल कार्य गरेको अनुभव छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी गरेकी श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तरसमेत गरेकी छन् ।
नवनियुक्त सञ्चालक श्रेष्ठको लामो कार्यानुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेमा क्यापिटल विश्वस्त रहेको विज्ञप्तिमार्फत जनाइएको छ । ज्योति विकास बैंकको सहायक कम्पनीका रुपमा रहेको यस क्यापिटलको चुक्ता पुँजी २१ करोड छ ।
ग्राहकको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा एवं निक्षेप सदस्य सेवा प्रदान गरिरहेको छ ।