
तनहुँ र गोरखामा भएको छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
तनहुँको व्यास नगरपालिका १२, तल्लो छिर्कनस्थित सडकमा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग.प्र.००३-००१ प ०३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मोटरसाइकलमा चढेका ऋषिङ गाउँपालिका ६, चालिसे घर भई व्यास नगरपालिका ५, पाटन बस्ने १९ वर्षीय सन्दीप आले र ४० वर्षीया मधुमाया आलेको मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सन्दीप र मधुमाया आमाछोरा हुन् ।
यसैगरी गोरखाको पालुङटार नगरपालिका ५, लामागाउँस्थित सडकमा बा.८२प २१९९ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
अजिरकोट गाउँपालिका ३, भच्चेक घर भई पालुङटार नगरपालिका ५, हवाई ग्राउन्ड डेरा गरी बस्ने २४ वर्षीय सुरेश गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।