काठमाडौं, माघ ९ :

उच्च अदालत पोखराले बिभिन्न सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको कारण माग गरेको छ ।

न्यायाधीश राजकुमार खतिवडाको इजलासले सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित ७ जनालाई छाड्ने आधार र कारण सहितको प्रतिवेदन पेश गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ ।

जिल्ला अदालत कास्कीले लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्ने आदेश दिएपछि त्यो आदेश बदर उनीरुलाई थुनामै राख्नुपर्ने माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले उच्च अदालत पोखरामा निवेदन दिएको थियो ।

जिल्ला अदालत कास्कीले गोर्खा मिडियाका पूर्व प्रवन्ध निर्देशक समेत रहेका लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको थियो । कास्की र काठमाडौंबाट धरौटीमा रिहा भएका लामिछाने र छविलाल जाेशी अब रुपन्देही जानुपर्ने भएको छ । उनीहरुविरुद्ध त्यहाँ पनि मुद्दा दायर भएको छ ।