काठमाडौं, माघ ९ :

विज्ञापन बोर्डले टेलिभिजन रेटिङ प्वाइन्ट (टीआरपी) निकाल्नेबारे तयारी थालेको छ ।

बोर्डले टेलिभिजनहरुको भ्युवरसिप निकाल्ने र सोही आधारमा विज्ञापन दिनेगरी तयारी थालेको हो । नेपालमा अहिलेसम्म टेलिभिजन रियल टाइममा कति मान्छेले हेरिरहेका छन् भनेर तथ्यांक निकाल्न सकिएको छैन । टेलिभिजनको टीआरपीका आधारमा विज्ञापन प्राप्त हुने अन्तर्राष्ट्रिय अभ्यसाको सुरुवात गर्न छलफल चलाइएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताए ।

टेलिभिजनको लोकप्रियता र टेलिभिजनबाट प्रशारण हुने कार्यक्रमको लोकप्रियताका आधारमा विज्ञापन बाँडफाँट गर्न छलफल अघि बढाइएको अध्यक्ष हुमागाईंको भनाइ छ ।

‘नेपालमा टेलिभिजन रियल टाइममा कति मान्छेले हेरिराखेका छन् ? कुन टेलिभिजन कति लोकप्रिय छ ? र टेलिभिजनभित्रको पनि कुन कार्यक्रम कति लोकप्रिय छ ? भनेर अहिलेसम्म हामीले डाटा निकाल्न सकेका छैनौं । संसारभरि टेलिभिजनहरुको भ्युवरसिप निकाल्ने तथा टेलिभिजन रेटिङ पोइन्ट (टीआरपी) निकाल्ने गरिन्छ,’ उनले भने, ‘त्यो आधारमा टेलिभिजनहरुमा विज्ञापन प्राप्त हुने र विज्ञापन पनि कार्यक्रमको लोकप्रियताका आधारमा मापन गरिन्छ । त्यसैले हामीले नेपालमा पनि टेलिभिजनहरुको रेटिङ निकाल्नुपर्छ भनेर हामीले छलफल चलाएका हौं । सम्भवतः यो छलफलले मद्दत पुग्छ भन्ने हामीले विश्वास लिएका छौं ।’

छलफलले टेलिजिनहरुको टीआरपी निकाल्ने र सोही आधारमा विज्ञापन दिन सहजता प्रदान गर्ने उनको विश्वास छ ।