
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारको आयु धेरै लामो नभएको दाबी गरेका छन् । चितवनमा आज (मंगलबार) पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
वर्तमान सत्ता गठबन्धन प्राकृतिक नै नभएको तर्क गर्दै उनले सरकारले गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएको र अध्यादेशसम्म आउँदा लाजमर्दो भएको दाहालको टिप्पणी थियो । सत्ताबाट हटेको दिनदेखि नै अध्यक्ष दाहाले सधैं सरकारको आयुको बारेमा बोल्दै आएका छन् । विपक्षी दलहरु सत्ता साझेदार दलहरुकोबीचमा तिक्तताले फाटो ल्याओस् भन्ने चाहन्छन् ।
भरतपुर विमानस्थलमै दाहालसँगै भेट भएका नेपाली कांग्रेसका नेता शशांक कोइरालाले सरकार तत्काल ढलिहाल्ने अवस्थामा नरहेको दाबी गरे ।
सरकारको स्थायित्वका लागि पनि दुई ठुलो दल मिल्नुको विकल्प नरहेको प्रस्ट्याउँदै नेता कोइराले तत्काल तलमाथि हुने सम्भावना नरहेको बताए । तर उनले भने, ‘राजनीति हो, जे पनि हुनसक्छ, नहुने होइन ।’
स्थिर सरकार भए विकाससहितका जनताका चाहना पूरा गर्न सहज हुने उनको भनाइ थियो । उनले संविधान संशोधनका विषयमा सत्तासाझेदार दलहरू स्पष्ट हुनुपर्ने पनि बताए । कुन विषयमा कस्तो संशोधन गर्ने भन्ने स्पष्ट भएपछि मात्र त्यसबारे छलफल गर्न सकिने उनको भनाइ थियो ।