बागलुङ, माघ ९ :

पूर्व ऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको निधन भएको छ । 

शर्माको आज दिउँसो ६८ वर्षको उमेरमा भारतस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

मिर्गौलामा समस्या भएपछि शर्मा केही समयअघि उपचारका लागि भारत गएका थिए । मिर्गौला प्रत्यारोपण असफल भएपछि उनको निधन भएको नेकपा (एकीकृत समाजवादी) बागलुङका अध्यक्ष पिङ्गलराज गौतमले जानकारी दिए । 

पुराना वामपन्थी शर्मा पछिल्लो समय एकीकृत समाजवादीमा क्रियाशील थिए । वि. सं २०६४ को संविधानसभा सदस्यमा निर्वाचित भएका शर्मा त्यही बेला  राज्यमन्त्री भएका थिए।

एकीकृत समाजवादी पार्टी स्थापना भएपछि उनी गण्डकी प्रदेश अध्यक्षसमेत भए । हाल उनी कुनै पनि जिम्मेवारीमा थिएनन् । शर्माको शव भोलि साँझसम्म भारतबाट बागलुङ ल्याइने अध्यक्ष गौतमले बताए ।