
राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले खानेपानी संस्थाहरू करमुक्त हुनुपर्ने माग राखेको छ ।
महासङ्घका अध्यक्ष खेमराज वलीको नेतृत्वको टोलीले मङ्गलबार खानेपानीमन्त्री प्रदीप यादव र मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलाई ज्ञापनपत्र बुझाउँदै जनताको पानी सरकारको लगानी भन्ने नारालाई सार्थक बनाउन आग्रह गरेको हो ।
जलवायु परिवर्तन, जनसङ्ख्या वृद्धि, सहरीकरण लगायतका विविध कारणले खानेपानीको स्रोत दिनप्रतिदिन घट्दै गएकाले भविष्यमा आउनसक्ने चुनौतीको सामना गर्न बेलैमा वैकल्पिक उपाय अपनाउनुपर्नेमा महासङ्घले जोड दिएको छ ।
स्थानीय तहबाट देखाइएको उत्साहजनक सहभागिताका कारण आज साना सहरी- सहरी/ सहलगानी लगायतका खानेपानी आयोजना दक्षिण एसियाकै नमूना खानेपानी आयोजनामा प्रमाणित भएकाले यी खानेपानी आयोजनाको संरक्षण गर्न महासङ्घले ध्यानाकर्षण गराएको छ ।
नेपालको संविधानमा भएको प्रत्येक नेपालीलाई स्वच्छ खानेपानी तथा सरसफाइ पहुँचको हकलाई सम्मान गर्दै पूर्ण कार्यान्वयन गर्न महासङ्घको माग छ ।
खानेपानी आयोजनाको प्राविधिक/ आर्थिक पक्ष सरकारको र व्यवस्थापकीय क्षेत्र समुदायको अर्थात उपभोक्ता संस्थाहरूको भएकाले मौलिकहकको प्रत्याभूति हुने गरी खानेपानी आयोजना निर्माण हुनुपर्नेमा जोड दिएको छ ।
लगानी साझेदारीका सञ्चालित आयोजनाका कारण उपभोक्ता संस्थाहरू ऋणको भारमा थिचिएको ऋण मिनाहा गर्न अर्थ मन्त्रालयसँग समन्वय गरी दिन पनि आग्रह गरेको छ ।