
गत आर्थिक वर्ष २०८०/८१ मा ओखलढुङ्गामा ७९ करोडभन्दा बढी विकास बजेट ‘फ्रिज’ भएको छ । विकास निर्माणका लागि विनियोजन भए पनि समयमा काम सम्पन्न नहुँदा बजेट फ्रिज भएको हो ।
कुल ७९ करोड ३९ लाख ६२ हजार तीन सय ५५ दशमलव १६ पैसा फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले जानकारी दिनुभयो ।
समयमा काम सम्पन्न नहुँदा जिल्लाका लागि प्रदेश तथा सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये खर्च हुन नसकेको उक्त बजेट फ्रिज भएको हो ।
सङ्घ र प्रदेश दुवैतर्फ गत आर्थिक वर्षमा जिल्लाका लागि कुल ८ अर्ब ५४ करोड ५१ लाख ७६ हजार एक सय १५ बजेट विनियोजन भएको थियो ।
तथ्याङ्कमा विकास बजेट खर्च नभएको देखिए पनि राष्ट्रिय गौरवको योजनाका रुपमा रहेका लिखु करिडोर, मोलुङ करिडोर, दर्जनौँ सडक पुलसहितका पूर्वाधारका काम वर्षौंदेखि बजेट अभावमा अधुरै रहेका छन् ।