काठमाडौं, माघ १० :

सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ ।

अधिकारीको पुस्तक काठमाडौंमा एक समारोहबीच नेपाली चलचित्र क्षेत्रको प्रथम नायिकाद्वय चैत्यदेवी सिंह र भुवन चन्दको आतिथ्यतामा मंगलबार लोकार्पण गरिएको हो । यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याएकी अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर ‘मेरा कलमका डोबहरू पाठकमाझ ल्याएकी हुन् ।

विशिष्ट कलाकार उत्तम केसीको सभापतित्वमा भएको कार्यक्रममा कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्वअध्यक्ष एवं नेपाली साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट संगीतकार राजु सिंह गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, गीतकार एवं वरिष्ठ रंग पत्रकार शान्तिप्रिय, वरिष्ठ गीतकार अमर वान्तु, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याललगायतको सहभागिता थियो ।

कार्यक्रममा कृतिकार अधिकारीले आफूले विभिन्न समयमा मिलाप मासिकका साथै विभिन्न पत्रपत्रिकामा प्रकाशित आलेखलाई ‘मेरा कलमका डोबहरू’मा समावेश गरेको बताइन् । मिलाप पब्लिकेसनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै लेखिका अधिकारीले आफ्ना आलेखलाई दस्ताबेजीकरण गरेको जानकारी गराए । उनले यसमा समावेश भएका आलेखहरूले त्यो समयका विभिन्न विषयलाई जानकारी दिने पनि बताए ।

त्यस्तै अनेसासका पूर्वअध्यक्ष लेकालीले गीतालाई आफूले वर्षौंदेखि चिनेको भन्दै लेखकबाट आगामी दिनमा अन्य कृतिको आश गरेको धारणा राखे । विशिष्ट कलाकार संग्रौलाले गीतका कार्यको तारिफ गर्दै गीत लेखनसँगै समाजसेवामा पनि सक्रिय गीता बहुआयामिक व्यक्तित्व रहेको चर्चा गरे ।

वरिष्ठ गीतकार वान्तुले गीता र आफ्नो जन्मस्थान भोजपुर भएको प्रसंग निकाल्दै गीत लेखनसँगै उहाँका अन्य कार्य प्रशंसनीयका साथै अनुकरणीय रहेको जिकिर गरे । सञ्चारकर्मी रिना श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा मिलापको पुस अंकमा कभर स्टोरीमा रहेकी साहित्यकार राधा भण्डारीलाई कभर सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा अथितिहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

गीता कला मनोरञ्जन पत्रकारिताको अलावा गीत लेखनमा पनि सक्रिय छन् । उनका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत स्रोता/दर्शकमाझ आएका छन् । चलचित्र पत्रकार संघमा सदस्य हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी कुशलपूर्वक सम्पादन गरेकी गीताको ‘मेरा कलमका डोबहरू’ पाठकमाझ आएको दोस्रो पुस्तक कृति हो ।

मिलाप पब्लिकेसन प्रालिले पाठकमाझ ल्याएको ४७७ पेजको यस कृतिको मूल्य ९९९ रुपैयाँ राखिएको छ । तस्बिर : सुरेन्द्र थापा