सांसदहरुले समितिको कामकारबाहीलाई प्रभावकारी बनाउन समिति सभापतिको ध्यानाकर्षण गराएका छन् । सिंहदरबारमा बुधवार बसेको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरुले समितिले प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले विधेयक वर्षौंसम्म अड्काएर राख्न नहुनेमा जोड दिए ।
समितिमा आएको जलश्रोत विधेयक, २०८१ सहितका अन्य विधेयकहरु छिटो टुंग्याउनुपर्नेमा जोड दिए । समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद महेश बस्नेतले अर्थतन्त्रलाई गतिशिल बनाउने सन्दर्भमा पनि पूर्वाधार विकास समितिको भुमिका महत्वपूर्ण रहेको बताए ।
उनले नेपाल सरकारले आफ्नो क्रय शक्तिलाई पूर्ण रुपमा सञ्चालन गर्न नसक्दा आम रुपमा श्रोत र साधन तल जान नसकेको बताए ।जसले गरिबी घटाउन र विकास निर्माण अघि बढाउन नसकिरहेको बताए । विधेयकको छलफललाई वृहत दायरामा लैजाने कुरामा समिति अघि बढ्नुपर्ने बताए ।
‘आम रुपमा आर्थिक स्थितिमा जुन चलायमान हुनुपर्ने थियो, त्यो हुन सकिरहेको छैन उनले भने, अर्थतन्त्रलाई गतिशिल बनाउने सन्दर्भमा पनि हाम्रो समितिको महत्वपूर्ण भुमिका छ । विधेयकलाई समय सान्दर्भिक बनाउन विज्ञहरुसँग छलफल गर्नुपर्छ । छलफल कहाँ भए भन्दा पनि छलफलको निचोड के आयो भन्नेकुरा महत्वपूर्ण हुन्छ । एउटा विधेयक वर्षौंसम्म अड्काएर समितिमा राख्ने परम्परालाई अन्त्य गरेर समितिको प्रभावकारितालाई हामी पुष्टि गरौँ ।’
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सरकारलाई दबाब दिएर भएपनि समितिमा आएको जलश्रोत विधेयकसहितका विधेयकहरु छिटो टुंग्याउनुपर्ने बताए। उनले समितिमा परेका उजुरीका सम्बन्धमा उपसमिति गठन गरेर जानुपर्ने माग गरे । उनले आफ्नो समितिसँग सम्बन्धित विषयहरुमा बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले समिति सदनप्रति जवाफदेहीहुन नसकेको आरोप लगाए। उनले समिति समिति र संसदप्रति बढी जवाफदेही हुनुपर्नेमा सरकारप्रति बढी जवाफदेही बन्ने गरी अघि बढिरहेको बताए । समितिको काम कारबाहीलाई व्यवस्थित गर्न आग्रह गरे ।
समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले पूर्वाधार विकाससम्बन्धी महत्वपूर्ण कामहरु अघि बढिरहेको बताए । उनले केही अलपत्र रहेको र केही सम्पन्न हुने स्थिति रहेको भन्दै अलपत्र आयोजनारुहरु अघि बढाउन आवश्यक रहेको बताए । सांसद नेपालीले मुग्लिङ–पोखरा सडक खण्डको समितिले स्थलगत अनुगमन गर्नुपर्ने माग गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कारागारमा हुँदाको भाकल पूरा गर्न रवि पत्नीसहित नैनीतालस्थित कैचीँधाम पुगे
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान