
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्टमा ५० देखि ७५ प्रतिशतसम्म मूल्य नभएको बताएका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधवारको बैठकमा मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले चार सयको सिमेन्ट आठ सय रुपैयाँ भन्ने विषयमा सत्यता नभएको दाबी गरे ।
उनले पछिल्लो समय उद्योगको मूल्य लागतअनुसार फरकफरक रहेको बताए । उनले ओपीसीको ६५० र पीपीसी ७५० रुपैयाँसम्म मूल्य रहेको बताए ।
मन्त्री भण्डारीले बाहिर भनिए जस्तो सिमेन्टमा ५०-७५ प्रतिशत मूल्य वृद्धि नभएको बताए । उनले सिमेन्टको मूल्य वृद्धिको विषयमा सरोकारवालाहरुसँग ४- ५ पटक छलफल भएको र अन्तिम पटक माघ ६ गते सहमति भएको बताए ।
उनले ढुवानीमा पनि मूल्य नबढेको तर लोडसेडिङले उत्पादनमा कमी भएको बताए । उनले निर्माण व्यवसायी र उद्योगी दुवैलाई सँगै राखेर र छुट्टाछुट्टै पनि बसेर छलफल गरेको जानकारी दिए । उनले उत्पादनमा अभाव र बजारमा अभावको विषयमा उद्योगी र निर्माण व्यवसायीसँगै राखेर टुंग्याउने प्रतिवद्धता जनाए ।
उनले सरकारी हेटौँडा र उदयपुर सिमेन्ट उद्योग घाटा खाएर विक्री भइरहेको समेत बताए ।मन्त्री भण्डारीले संसदीय समितिको निर्देशनका आधारमा चाँडै सिमेन्ट मूल्य वृद्धिका विषयमा टुङ्गो लगाउने बताए ।