
महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
भुसावल रेलवे डिभिजनका जनसम्पर्क अधिकृतले बीबीसी मराठीलाई यो कुराको पुष्टि गरेका छन् ।
ती अधिकृतका अनुसार लखनऊबाट मुम्बई जाँदै गरेको यो रेल महाराष्ट्रको जलगाउँ जिल्लाको रेलवे ट्र्याकमा रोकिएको थियो । रेलको कुनै एक डिब्बामा आगलागी भएको त्यहाँ रहेका यात्रुले आशंका गरेका थिए । त्यसैले रोकिएको रेलका यात्रु झरेर ट्र्याकको अर्को छेउतर्फ लागे ।
त्यही समयमा कर्नाटक एक्सप्रेस त्यही ट्र्याकबाटै आयो । जसकारण केही यात्रुको त्यही रेलमा ठोक्किएर मृत्यु भयो भने अन्य धेरैजना घाइते भएको बताइएको छ ।
कर्नाटक एक्सप्रेस मनमाडबाट भुसावल जाँदै गरेको बताइएको छ ।
जलगाउँका जिल्ला मजिस्ट्रेटले बीबीसी मराठीलाई बताएअनुसार घटनामा १२ जना घाइते भएका छन् । घाइतेहरुको पाचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ ।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले यो घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
इन्स्टाग्राममा उनले लेखेका छन्, ‘मेरा सहकर्मी मन्त्री गिरीश महाजन र एसपी घटनास्थलमा पुगेका छन् । जिल्ला मजिस्ट्रेट पनि चाँडै आइपुग्दै हुनुहुन्छ । सम्पूर्ण जिल्ला प्रशासन रेलवेसँग समन्वयमा छ र घाइतेहरूलाई अस्पताल पुर्याइएको छ ।’
‘घटनास्थलमा आठवटा एम्बुलेन्स पठाइएको छ । घाइतेहरूको उपचार गर्न नजिकैका निजी अस्पतालहरूलाई पनि अलर्टमा राखिएको छ । हामी सम्पूर्ण घटनाको निगरानी गरिरहेका छौं र तुरुन्तै आवश्यक सबै सहयोग प्रदान गरिएको छ,’ उनको भनाइ छ ।
के भन्छ रेलवे प्रशासन ?
केन्द्रीय रेलवेका जनसम्पर्क अधिकारी स्वप्निल नीलाले भने, ‘पुष्पक एक्सप्रेस लखनऊबाट मुम्बईको छत्रपति शिवाजी महाराज टर्मिनतर्फ जाँदै थियो । महेजी र पारधाडे रेलवे स्सशनहरूबीच चेन पुलिङ भएको थियो । त्यही समयमा, एउटा कोचका यात्रु ट्र्याकमा ओर्लिए ।’
उनका अनुसार, ‘यसैबीच, कर्नाटक एक्सप्रेस अर्को तर्फबाट आउँदै थियो र यात्रुमाथि रेलले ठक्कर दियो । घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।’