
कञ्चनपुर, माघ १० :
कञ्चनपुरमा एक प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन्।सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल विष्टले बुधबार साँझ आफैंमाथि गोली प्रहार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार साँझ साढे ८ बजेको समयमा डीउटीमा रहेका उनले आफैंमाथि गोली हानेका हुन्।
गम्भीर घाइते प्रहरी जवान विष्टलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएको छ। दाहिने कानभन्दा माथि गोली लागेको उनको अवस्था गम्भीर रहेको छ।
कञ्चनपुरमा कार्यरत प्रहरी जवानले आफैंमाथि गोली चलाएको घटना सेलाउन नपाउँदै फेरि अर्का प्रहरी जवानले आफैंमाथि गोली चलाएका हुन्।संगठनभित्र रहेका प्रहरी जवानले किन आत्महत्याको प्रयास गरेका हुन् भन्नेबारेमा केही खुलेको छैन । तर घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ ।