
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दक्षिणी सीमाको सुरक्षाका लागि एक हजार ५ सय सक्रिय सैनिक परिचालन गर्न थालेको जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले लगत्तै आप्रवासन नियन्त्रणका लागि कार्यकारी आदेशमा अघि सारेका योजनालाई कार्यान्वयन गर्दै आगामी दिनमा दक्षिणी सीमाको सुरक्षाका लागि ती सैनिक परिचालन गर्न थालेको जनाईएको छ ।
कार्यवाहक रक्षामन्त्री रोबर्ट सालेसेसले सीमा गस्ती एजेन्टलाई सहयोग गर्न सेनाले हेलिकप्टर उडाउने,पाँच हजारभन्दा बढी हिरासतमा रहेका आप्रवासीका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी डिपोर्टेसन फ्लाइटका लागि सैन्य एयरलिफ्ट उपलब्ध गराउने बताएका छन् ।
सलेसेसले एक विज्ञप्तिमा भनेका छन्,"सैनिकको संख्या र उनीहरूको मिसन चाँडै परिवर्तन हुन सक्छ यो सुरुवात मात्र हो ।"
दशकौंपछि पहिलो पटक नाटकीय रूपमा फरक भूमिकामा अमेरिकी सेनालाई राख्ने कानुन कार्यान्वयन गर्ने कि नगर्ने भन्ने हेर्न बाँकी नै छ ।सक्रिय ड्युटी फोर्सहरू लगभग २ हजार ५ सय अमेरिकी नेशनल गार्ड र रिजर्भ फोर्समा सामेल हुनेछन्। करिब २ हजार माइल लामो सीमामा अहिले कुनै पनि सक्रिय ड्युटी सैनिकहरू कार्यरत छैनन्।
नाम नबताउने शर्तमा एक सैनिक अधिकारीका अनुसार बुधबार देखि नै सुरक्षाकर्मीहरु सीमामा जान थालेका बताएको बीबीसीले उल्लेख गरेको छ ।