काठमाडौँ, माघ ११ :

काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ ।

माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताए ।

लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको हुँदा त्यसको कारणले पनि असर पारेको उनले बताए । उनले अब तापक्रम बढ्ने समय पनि हुन लागेको बताए ।

न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ । यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने (हट्दै जाने) हुनाले अहिले दुई- तीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो ‘रेसियो’मा भने नबढ्ने उनले बताए ।

तर पनि अब तापक्रम उकालो लाग्ने समय भने हुन लागेको उनको भनाइ छ ।

विभागले बुधबार साँझ सार्वजनिक गरेको विवरणमा काठमाडौँको अधिकतम तापक्रम २४. ६ डिग्री सेल्सियस पुगिसकेको छ । न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ ।

यसपालि काठमाडौँको तापक्रम दुई डिग्रीसम्म झरेको थियो । बुधबार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७. २ र वीरेन्द्रनगरमा २७. १ डिग्री मापन भएको छ ।

२१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ । बुधबार न्यूनतम तापक्रम जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको छ ।