काठमाडौं, माघ ११ :

चिसोका कारण अस्वस्थ बनेका प्रधानमन्त्री केपी ओली अझै केहीदिन आराम गर्ने भएका छन् । घाँटीमा समस्या आएको र स्वर भासिएका कारण प्रधानमन्त्री ओली बुधबारदेखि भेटघाटका सबै कार्यक्रम छाडेर आराम गरेर बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भासिएको स्वर अझै राम्रोसँग नखुलेको स्रोतले जनाएको छ ।अत्यावश्यक बाहेकका भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागी नहुने भएका छन् । म‌ंगलबार अबेर सकिएको सचिवालय बैठक सकिएर फर्कदा उनलाई चिसो लागेको बुझिएको छ ।

स्वास्थ्य ठीक नभएकै कारण प्रधानमन्त्री ओली बुधबार पूर्वनिर्धारित सशस्त्र प्रहरी बलको २४औँ वार्षिकोत्सव समारोहमा पनि सहभागी हुन सकेनन् ।