काठमाडौं, माघ ११ :

नेप्सेको उच्च वृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन ५२ दशमलव ३६ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) भने ११ दशमलव १० अंकले घटेर २६ सय ५४ दशमलव ३५ अंकमा झरेको छ ।

यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९९ अंकले घटेर चार सय ४६ दशमलव ८१ अंकमा झरेको छ । नेप्सेमा आज ३१८ कम्पनीको ८४ हजार सातपटकको कारोबारमा एक करोड ५१ लाख चार हजार ३३ कित्ता सेयर खरिद-बिक्री भए । जसअनुसार कुल कारोबार रकम सात अर्ब ८५ करोड ७७ लाख ९२ हजार तीन सय २६ रुपैयाँ पुग्यो ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा विकास बैंक समूहको सूचक ४५ दशमलव ८८ अंकले बढेर पाँच हजार पाँच सय ६० दशमलव ९६ अंकमा चढेको छ । उत्पादनमूलक समूहको सूचक शून्य दशमलव ३५ अंकले बढेको छ ।

यीबाहेक बाँकी समूहका सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ४१ अंकले घटेर १३ सय ५० दशमलव ७४ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक ६३ दशमलव ९८ अंकले घटेर २५ सय ६४ दशमलव ७५ अंकमा झरेको छ ।

जलविद्युत् समूहको सूचक २० दशमलव ५७ अंकले घटेर तीन हजार सात सय ६ दशमलव ६२ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक दुई दशमलव ३५ अंकले घटेर १३ हजार ७४ दशमलव ३० अंकमा झरेको छ । यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि ९४ दशमलव ९२ अंकले घटेर १२ हजार सात सय ८८ दशमलव ९६ अंकमा झरेको छ ।

होटेल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ५३ दशमलव ८७, शून्य दशमलव ८३, शून्य दशमलव ५८, शून्य दशमलव शून्य पाँच, सात दशमलव ४४ र १० दशमलव ४२ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था परेको छ । सबैभन्दा बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सुपर मादी हाइड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने सप्तकोसी डेभलपमेन्ट बैंक परेको छ ।