जनकपुर, माघ ११ :

मधेस सरकारले ल्याएको मधेसको कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै युवाहरुले मधेसका मुख्यमन्त्री तथा शिक्षा र संस्कृतिमन्त्रीको पुतला दहन गरेका छन् ।

मधेस प्रदेशसभामा पेस भएको विधेयकमा मधेसमा बोलिने मातृभाषालाई छोडेर अन्य अन्य भाषाहरुलाई समावेश गरिएको भन्दै युवाहरुले मुख्यमन्त्रीको पुतला दहन गरेका हुन् ।

प्रदेशसभा भवनअगाडि मुख्यमन्त्री सतिशकुमार सिंह र शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको पुतला दहन गरिएको हो । विधेयकमा मातृभाषाहरु छुटाएर आयातित भाषाहरुलाई स्थान दिइएको भन्दै आफूहरुले विरोध स्वरुप पुतला दहन गरेको युवा फुलगेन महतोले जानकारी दिए ।

मधेसका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्माले बुधबार मधेसको कामकाजी भाषासम्बन्धी विधेयक सदनमा पेस गरेकी थिइन् । विधेयकमा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई कामकाजी भाषाका रुपमा समेटिएको छ ।