
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लालदकुमार योगीको इजलामा भएको थुनछेक बहस नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको हो ।
आज (बिहीबार)सरकारी वकिल र सुप्रिम सहकारी प्रकरणमा जाहेरवालाका तर्फबाट बहस भएको छ ।
सरकारी वकिल कार्यालयका तर्फबाट बहस गरेकाहरूले सुप्रिम सहकारीबाट लगानी भएको ऋणको जिम्मेवार लामिछाने नै भएको दलिल पेस गरेका छन् । सात जना सरकारी वकिलहरूले बहस गरेका छन् । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका हुन् ।
लामिछानेको तर्फबाट शुक्रबार(भोलि) वकिलहरूले बहस गर्नेछन्। त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । शुक्रबार सबै बहस सकिए आदेश आउने सम्भावना रहेको छ ।
यसअघि कास्कीके सूर्यदर्शन सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालतहरूले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
रुपन्देही जिल्ला अदालतबाट कस्ता आदेश आउला भन्ने धेरैले चासो राखेका छन् । उनीविरुद्ध अन्य जिल्लामा पनि मुद्दा परेको छ ।बिहीबार बहस नसिकएपछि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ ।