काठमाडौँ, माघ ११ :

प्रधानसेनापति अशोकराज सिग्देलले इतिहासको पठनपाठन कम हुँदै जाँदा शिक्षित नागरिकमा नेपालको गौरवपूर्ण इतिहास, संस्कृति, परम्परा तथा मूल्य मान्यताबारे यथेष्ट जानकारी हुन छाडेको बताएका छन् ।

नेपाली सेनाद्वारा जङ्गीअड्डामा आयोजित अवकाश प्राप्त रथीवृन्दसँगको अन्तरक्रिया समापनका अवसरमा उनले इतिहासको अध्ययन र अध्यापन नभए कालान्तरमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानमा नै असर पर्दै जानेमा चिन्ता व्यक्त गरे ।

महारथी सिग्देलले इतिहासको महत्व जगाउन सेनामा सञ्चालन हुने सबै तालिममा इतिहासको अध्ययन अध्यापन सुरु गर्न लागिएको जानकारी दिए । नेपाली सेनाले ‘गौरवशाली नेपाल’ नामक पुस्तक समेत तयार पारेको उनले बताए ।

प्रधानसेनापति सिग्देलले कल्याणकारी योजना अन्तर्गत आयमूलक सँगसँगै राष्ट्र र नागरिकको जीवनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान दिने खालको कार्यक्रम लागू गर्नसमेत अध्ययन भइरहेको बताए । 

अवकाश प्राप्त ज्येष्ठ रथी कृष्णनारायणसिंह थापाले सेनाको योग्य र विज्ञ समूहले हालको विश्व सुरक्षा वातावरणमा नेपालको सुरक्षा अवस्थालाई मजबुत बनाउन राष्ट्रिय सुरक्षा परिषद्लाई सल्लाह सुझाव दिई सक्षम बनाउनुपर्ने धारणा राखे ।