काठमाडौँ, माघ १२ :

हाल देशको पश्चिमी भू- भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम  सफा रहेको छ । 

साथै तराइका धेरै  भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी साताभर तराई भेगमा कुहिरो नफाट्ने र त्यसपछि क्रमशः त्यो हराउँदै जाने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

काठमाडौँ उपत्यकाको तापक्रम पनि क्रमशः वृद्धि हुन थालेको छ । बिहीबार बिहान न्यूनतम तापक्रम ६. १ डिग्री सेल्सियस मापन गरिएकामा आज पनि ६. १ डिग्री सेल्सियस कायम भएको छ । आज यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस रहने विभागको पूर्वानुमान छ । 

विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी र कर्णाली प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहने छ ।

आगामी २४ घण्टामा  कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  

शनिबार बिहान तराईका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने जनाउँदै विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।