म्याग्दी, माघ १२ :

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका- ४ खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । 

एक सय १२ मिटर लामो पुलबाट धवलागिरि- ४ खिवाङ, वडा नं ५ मलम्पारमराङका एक सय ७० घरका आठ सय ५० जनसङ्ख्या लाभान्वित भएका छन् । ५७ लाख ५२ हजार पाँच सय ८८ को लागतमा पुल निर्माण भएको वडाध्यक्ष यामबहादुर घर्तीले बताए । 

उपभोक्ता समितिका सदस्य चन्द्रबहादुर हमालले पुल बनेपछि एक घण्टा ३० मिनेटको बाटो पाँच मिनेटमा छोटिएको बताए । “पहाडको टुप्पोबाट फेदीमा झरेर जङ्गल र भीरको बाटो भएर पुनः डाँडामा उक्लँदा भालु, चितुवाको डर थियो”, उनले भने, “पुल बनेपछि सुरक्षित रूपमा छोटो बाटो हिँड्न सहज भएको छ।”