
भारत महाराष्ट्रको जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा भएको रेल दुर्घटनामा ७ जना नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ठेगाना नखुलेको कमला नवीन भण्डारी, डुडुवा नयाँबस्ती बाँकेका राधेश्याम राध र नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासी रहेका छन् ।
अछामका पञ्चदेवल विनायक नगरपालिका ४ का नन्दाराम, पद्मा विश्वकर्मा, मैसरा कामी विश्वकर्मा र हिनु नन्दराम विश्वकर्मा तथा कमला बजार नगरपालिका ४, चाल्साकी ६० वर्षीया जयकला कामी छन् ।
सबै शव आफन्तलाई बुझाइसकिएको बताइएको छ । नेपाली मृतकका परिवारलाई क्षतिपूर्तिका लागि पहल भइरहेको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।
महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधबार साँझ लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेपछि यात्रु रेलबाट हाम फालेका थिए ।
त्यस क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको कर्नाटक एक्सप्रेसको रेलले उनीहरूमध्ये धेरैलाई किचेको थियो ।