
लगानीकर्ताहरुका लागि यो साता केही सुखद देखिएको छ । साताको सुरुवाती कारोबार दिनदेखि नै उकालो लाग्न सुरु गरेको नेप्से परिसूचक चौथो कारोबार दिनसम्म लगातार उकालो लागेको थियो । जसले गर्दा यो साता नेप्से परिसूचकसँगै कारोबार रकम पनि गत साताको तुलना बढ्दा लगानीकर्ताहरु केही हदसम्म हौसिएका थिए ।
सोअनुसार बजार परिसूचक नेप्से सातामा २६ सय ५४ दशमलव ३५ विन्दुमा पुगेर रोकिएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४६ दशमलव ८१ विन्दुमा पुगेर रोकिएको छ ।
यो साता धितोपत्र बजारमा ३२५ कम्पनीको सेयर कारोबार भएका छन् । जसबाट तीन लाख ९१ हजार चार सय ८९ पटकको कारोबारमा सात करोड १० लाख ८३ हजार चार सय ७४ कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम ३६ अर्ब सात करोड ८७ लाख ३६ हजार ७७ रुपैयाँ पुगेको छ ।
यो कारोबार रकम गत साताको तुलनामा १४ अर्ब रुपैयाँले बढी हो । गत साता यस्तो कारोबार रकम २२ अर्ब ४० करोड ७४ लाख आठ हजार दुई सय ३६ रुपैयाँमा सीमित थियो । उक्त साता ३२२ कम्पनीको दुई लाख ४४ हजार नौ सयपटकको कारोबारमा चार करोड ४३ लाख ८७ हजार तीन सय ३८ कित्ता सेयर खरिद-बिक्री हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।
यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नै खुलेको थियो । जसमध्ये पाँचौं दिन ओरालो लागेको नेप्से परिसूचक बाँकी दिनहरुमा भने लगातार उकालो लागेको थियो । सोअनुसार पहिलो दिन नेप्से परिसूचक १२ दशमलव ५८ अंकले बढेर २६ सय एक दशमलव २१ अंकमा पुगेको थियो भने सेन्सिटिभ इन्डेक्स दुई दशमलव ४१ अंकले बढेर चार सय ३९ दशमलव चार अंकमा पुगेको थियो ।
दोस्रो दिन पनि नेप्से ६ दशमलव ७८ अंकले बढेर २६ सय सात दशमलव ९९ अंकमा पुगेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १० अंकले बढेर चार सय ३९ दशमलव १४ अंकमा पुगेको थियो ।
तेस्रो दिन परिसूचक पाँच दशमलव शून्य आठ अंकले बढेर २६ सय १३ दशमलव शून्य आठ अंकमा पुगेको थियो । सेन्सिटिभ इन्डेक्स पनि एक अंकले बढेर चार सय ४० दशमलव १४ अंकमा पुगेको थियो । चौथो दिन पनि नेप्से परिसूचक ५२ दशमलव ३६ अंकले बढेर २६ सय ६५ दशमलव ४५ अंकमा पुगेकामा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ६५ अंकले बढेर चार सय ४८ दशमलव ८० अंकमा पुगेको थियो ।
पाँचौं दिन भने नेप्से परिसूचक ११ दशमलव १० अंकले घटेर २६ सय ५४ दशमलव ३५ अंकमा खुम्चिएकामा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९९ अंकले घटेर चार सय ४६ दशमलव ८१ अंकमा खुम्चिएको थियो ।
यो साता नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, सप्तकोसी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स आदिको बढी रकम कारोबार हुँदा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, सिन्धु विकास बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुँजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।