जनकपुर, माघ १२ :

विगत तीन दिनयता  बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनकपुरसहित मधेसको जनजीवन प्रभावित बनेको छ ।

गत सोमबारदेखि दिउँसोबाट घाम उदाए पनि मंगलबारदेखि एकाएक चलेको चिसो हावा र गएराति शीतको वर्षा भएपछि मधेसमा अत्याधिक चिसो महसुस गरिएको हो ।

विगत तीन दिनदेखि घाम उदाएको छैन । साथै शीतलहर र शीतको वर्षा पनि भइरहेको छ ।

अत्याधिक चिसो र घाम अभावका कारण ग्रामीण जनजीवन ठप्प छ । दैनिक ज्याला, मजदुरी गर्नेहरु मारमा परेका छन् । मधेसको जनजीवन १० बजे बिहानसम्म ठप्प हुने गरेको छ । चिसोबाट गरिब विपन्नहरुलाई धेरै समस्या भएको छ ।

स्थानीय बासिन्दा आगो तापेर तथा ग्रामीण भेकमा पराल (घुर) बालेर चिसो छल्ने गरेका छन् । जनकपुरमा शुक्रबार न्युनतम ११ र अधिकतम २१ डिग्री तापक्रम मापन गरिएको छ । जारी शीतलहर र चिसो हावा अझै केही दिनसम्म रहने अनुमान गरिएको छ ।