काठमाडौं, माघ १२ :

शिक्षा भनेको केवल परीक्षा पास गर्ने माध्यम मात्र होइन । यो व्यक्तित्व निर्माण र आत्मविश्वास अभिवृद्धिको आधार हो । यही सोचलाई आत्मसात् गर्दै, विनोद सापकोटाले अक्षर लेखनलाई विशेष अभियानका रूपमा अघि बढाएका छन् ।

बागलुङमा जन्मिएका विनोदले बाल्यकालदेखि अक्षर लेखनप्रतिको गहिरो रुचिलाई जीवन्त राख्दै यसलाई आफ्नो पेसा बनाएका छन् । परम्परागत शिक्षण शैलीलाई तोड्दै, उनले आधुनिक प्रविधिको सहायताले अनलाइन लेखन तालिम सञ्चालन गरे, जसले नेपालका साथै विदेशमा रहेका विद्यार्थीहरूलाई पनि ठुलो लाभ पुर्‍याएको छ ।

आजसम्म उनले सयौं विद्यालय र लाखौं विद्यार्थीलाई लेखन तालिम दिन सफल भएका छन् । उनका प्रयासले शिक्षा र व्यक्तित्व विकासमा लेखनको महत्त्वलाई समाजमा स्थापित गरेको छ । हस्तलेखनको महत्त्वलाई बुझ्दै विनोदले यसलाई केवल भाषा सुधारको साधनका रूपमा मात्र सीमित नराखी व्यक्तित्व विकासको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरेका छन् ।

अनुसन्धानहरूले समेत प्रमाणित गरेको छ कि राम्रो हस्तलेखनले विद्यार्थीहरूको ध्यान केन्द्रित गर्न, स्मरणशक्ति सुधार्न र रचनात्मक क्षमताको विकास गर्न सहयोग पुर्‍याउँछ । लेखनको सौन्दर्यले आत्मविश्वास बढाउन मात्र होइन, अनुशासन र समय व्यवस्थापनजस्ता जीवनउपयोगी सीपहरूको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ ।

डिजिटल युगमा पनि हस्तलेखनले व्यक्तिको व्यक्तित्व झल्काउने माध्यमका रूपमा काम गर्छ । यही कारणले विनोदले अक्षर सुधारलाई शिक्षाको अपरिहार्य अंग बनाउँदै यसलाई देश-विदेशका विद्यार्थीहरूमा लोकप्रिय बनाएका छन् ।

विनोद सापकोटाले कोभिड महामारीको समयमा सुरु गरेको अनलाइन लेखन तालिम अहिले पनि निरन्तर सञ्चालन भइरहेको छ । उनका कक्षाहरूमा भाग लिने विद्यार्थीहरूले नेपाली र अंग्रेजी लेखनमा मात्र होइन, अनुशासन, आत्मविश्वास र एकाग्रतामा समेत उल्लेखनीय सुधार अनुभव गरेका छन् ।

उनका तालिमहरूले नेपाली भाषा र संस्कृतिप्रति पनि गर्व र सम्मानको भावना जागृत गराएका छन् । विदेशमा रहेका नेपाली समुदायले अनलाइन तालिममार्फत आफ्ना सन्तानलाई नेपाली लेखनमा दक्ष बनाउँदै नेपाली पहिचानलाई जोगाउन भूमिका खेलेका छन् ।

विनोद आफैं आफ्नो कामबाट सन्तुष्ट छन् । उनले लेखन प्रशिक्षणमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सफल भएका छन् । विद्यार्थी, अभिभावक र शिक्षकहरूको प्रशंसा र सहयोगले उनलाई थप ऊर्जा दिएको छ । सीमित स्रोतसाधनबीच पनि उनले निष्ठा र परिश्रमका साथ समाजमा शिक्षा र व्यक्तित्व विकासका नयाँ सम्भावनाहरू प्रस्तुत गरेका छन् ।

नेपाली भाषाको प्रवर्द्धन, लेखन सुधार र विद्यार्थीहरूको जीवनशैलीमा परिवर्तन ल्याउँदै, विनोद सापकोटाको अभियानले शिक्षा क्षेत्रलाई नयाँ दिशा दिएको छ । हस्तलेखनले व्यक्तित्व निर्माण गर्छ भन्ने नारालाई साकार पार्दै, उनले अक्षर लेखनलाई एउटा क्रान्तिकारी अभियानका रूपमा स्थापित गरेका छन् ।