
आर्थिक मिडिया सञ्चालकहरूको साझा संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) को अध्यक्षमा रामराजा श्रेष्ठ दोहोरिएका छन् । यस्तै महासचिवमा पनि नारायणप्रसाद पौडेल दोहोरिएका छन् ।
संस्थाको सातौं वार्षिक साधारणसभाले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मतिले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष श्रेष्ठ बिजखबर डटकमबाट प्रतिनिधित्व गर्छन् ।
यसैगरी संस्थाको उपाध्यक्षमा इक्विटी नेपाल डटकमका लोचन खतिवडा र टक्सार म्यागजिनका हिम विष्ट चयन भएका छन् । संस्थाको सचिवमा अर्थपथ डटकमका विष्णु तारुके, कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव भण्डारी र सहसचिवमा आर्थिक आवाज डटकमका सुरेन्द्र पौडेल चयन भएका छन् ।
सदस्यहरूमा अर्थ संसार डटकमका मिलन खड्का, आर्थिक पार्टी डटकमका मदन लामिछाने, मेरो अटो डटकमका उज्ज्वल घिमिरे र हाम्रो अर्थ डटकमका दीपक भट्ट सर्वसम्मत चयन भएका छन् ।
इम्सनले देशमा आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच रहेर पुलको काम गर्दै आएको छ। नवनिर्वाचित अध्यक्ष रामराजा श्रेष्ठले आफू नेतृत्वको इम्सनको नवनिर्वाचित कार्यसमितिले आर्थिक मिडिया सञ्चालकहरूको हितमा काम गर्दै राष्ट्रको आर्थिक विकासमा योगदान पुर्याउन सहयोगी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।
इम्सनमा अहिले २७ आर्थिक मिडिया आबद्ध छन् ।
इम्सनको नयाँ नेतृत्वसँगै पहिलो कार्यसमिति बैठकले अनुशासन समितिको संयोजकमा न्युज एजेन्सी नेपालका सविन धमला र आचार संहिता समिति संयोजकमा आर्थिक भ्वाइस डटकमका विजय फुयाँललाई मनोनीत गरेको छ ।