बुटवल, माघ १२ :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणको कामलाई गति दिन वर्तमान सरकार बनेको बताएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको आज (शुक्रबार) ब्रेक थ्रुका क्रममा उनले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री सिंहले सुरुङ मार्गको ब्रेक थ्रुपछि सो क्षेत्रमा हुने सवारी यात्रा सुरक्षित र सहज हुने विश्वास व्यक्त गरे ।

त्यस्तै उनले अहिलेको सरकारको मुख्य प्राथमिकता विकास निर्माण र समृद्धि रहेको दाबी गरे । राजनीति अस्थिर हुँदा विकास निर्माणका कामले गति लिन नसक्ने भन्दै अहिले राजनीतिक स्थिरताका लागि संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको उनको भनाइ थियो ।

‘योजनाहरू राम्रो भए पनि राजनीति स्थिरता नहुँदा काम समयमा नसकिने र काममा व्यवधानहरू आउने कारणले गर्दा अहिले राष्ट्रिय राजनीतिको आवश्यकताअनुसार कांग्रेस, एमाले र अरू साना दल मिलेर सरकार बनेको छ,’ उनले भने, ‘दुई ठुला दल नमिली राजनीति स्थायित्व दिन सम्भव नभएको कारणले गर्दा राष्ट्रिय आवश्यकताअनुसार अहिले संयुक्त सरकार बनेको छ ।’ उपप्रधानमन्त्री सिंहले विकास निर्माणको काममा जनताको सहभागिता र स्वीकार्यता आवश्यक पर्नेमा पनि जोड दिए ।

यसअघिका सरकारले गर्न नसकेका कामलाई वर्तमान सरकारले अघि बढाउने पनि सिंहले बताए ।