काठमाडाैं, माघ १३ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत महामन्त्री धवलशमशेर राणाको राजनीतिक दस्ताबेजमा चर्को आलोचना भएको छ ।

बैठकमा बोल्ने केन्द्रीय सदस्यले राणाको दस्ताबेज पार्टीलाई विभाजनमा लैजाने खालको भएको भन्दै आलोचना गरे । महामन्त्री राणाले आफ्नो विचारपत्रमा २० जना ४० वर्षमुनिका केन्द्रीय सदस्य ल्याउने प्रक्रियालाई दुष्कर्मको संज्ञा दिएकामा केन्द्रीय सदस्यले विरोध जनाएका हुन् । राणाको ६ पेजको उक्त दस्ताबेज महामन्त्री कुन्ती शाहीले वाचन गरेकी थिइन् ।

राणाको दस्ताबेजमा संगठन कमजोर बन्दै जानुमा अध्यक्षलाई दोषारोपण गरेकामा पनि आरोप-प्रत्यारोप चलेको छ । शनिबार बोल्ने केन्द्रीय सदस्यहरूले राणा नै तीन वर्षसम्म संगठन विभागको प्रमुख रहेको हुँदा संगठन कमजोर हुनुमा अध्यक्ष नभई उनी नै जिम्मेवार भएको औंल्याएका थिए ।

सह-महामन्त्री धनबहादुर बुढाले गणतन्त्रवादी पार्टी एमालेबाट आएका राणाले जीवनभर राजसंस्थाको पक्षमा उभिएका अध्यक्षलाई आरोप लगाउनु अनैतिक भएको टिप्पणी गरेका थिए ।अर्का सहमहामन्त्री प्रकाश रिमाल, केन्द्रीय सदस्य उद्धवराज भेटवाल, लोकेन्द्र कुँवर राणाको पनि आलोचना गरेका थिए ।