
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकढिक्का भएर संसद्मा एक स्वरका साथ एउटै आवाज उठाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।
पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सांसद एवं पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँगको छलफलमा सभापति देउवाले यस्तो निर्देशन दिएका हुन् । सभापति देउवाको भनाइ उद्धृत गर्दै बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले सभापति देउवाले केही असन्तुष्टि भए पार्टीको बैठकमा राख्न र संसद् र बाहिर प्रस्तुत हुँदा व्यक्तिगत नभई पार्टीका रुपमा आफ्ना धारणा राख्न निर्देशन दिएको बताए ।
बैठकमा मन्त्रीहरुले सरकारमा भएका काम-कारबाहीबारे जानकारी गराएको बताए । उनकाअनुसार बैठकमा वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम, कारबाही, संसदमा प्रस्तुत भएका विधेयकहरु, अध्यादेश र आउने विधेयकहरुका विषयमा गहन रुपमा छलफल भएको छ ।
कांग्रेस एकढिक्का भएर एउटै आवाज र एउटै स्वरका साथ संसद्मा प्रस्तुत हुने र बाहिर पनि एकढिक्का भएर प्रस्तुत हुने निर्णय भएको प्रमुख सचेतक घिमिरेले बताए । आर्थिक पक्षमा तत्काल केही सुधार गर्नुपर्ने भएकाले र मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन केही विधेयक संशोधन गर्नैपर्ने बाध्यता भएकाले अध्यादेश ल्याएको कुरा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले राखेको उनको भनाइ छ ।
‘वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम, कारबाही, संसद्मा प्रस्तुत भएका विधेयकहरु, अध्यादेश र आउने विधेयकहरुका विषयमा गहन रुपमा छलफल भयो । नेपाली कांग्रेस एकढिक्का भएर एउटै आवाज र एउटै स्वरका साथ संसद्मा प्रस्तुत हुने र बाहिर पनि एकढिक्का भएर प्रस्तुत हुने । आर्थिक पक्षमा तत्काल केही सुधार गर्नुपर्ने भएकाले र मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन केही विधेयक संशोधन गर्नैपर्ने बाध्यता भएकाले यसलाई अध्यादेशको रुपमा ल्याइएको हो । केही समस्या छन् भने संसदीय दलमै कुरा राख्न र संसद् अधिवेशनमा एकढिक्का भएर प्रस्तुत हुन निर्देशन दिनुभयो,’ उनले भने ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधनका विषयमा सरकारले गम्भीरताका साथ गृहकार्य थालेको जानकारी दिए । उनले पार्टीबाहेक पनि सरकारका तर्फबाट संविधान संशोधनका लागि छुट्टै संयन्त्र बनाएर काम अघि बढाउनेबारे सरकारमा सहभागी मन्त्रीहरुले जानकारी गराएको जानकारी दिए । उनले आर्थिक गतिविधि चलायमान गर्न अध्यादेश ल्याएको र सबैले स्वागत गरेको बताए ।
‘संविधान संशोधनका विषयमा हामीले गम्भीर गृहकार्य थालनी गरेका छौँ । त्यसमा एएटा छुट्टै संयन्त्र पनि बन्छ । त्यसमाथि पार्टीगत पनि बन्छ । संशोधनका विषयवस्तुहरु हुन सक्दछन् । सरकारबाट पनि एउटा संयन्त्र बनाएर त्यसउपर गम्भीर गृहकार्य गर्ने भन्ने नै हो,’ महतले भने, ‘धेरै विधेयकहरु संसद्मा धेरै वर्षदेखि पेन्डिङ रहेको र समयमा कार्यान्वयन नभएको अवस्थामा आर्थिक गतिविधि चलायमान गर्न अध्यादेशमार्फत छिटो छरितो हुने आशयले ल्याएको कुरा राख्नुभयो । त्यसलाई सबैतिरबाट स्वागत भइरहेको छ । संसद्मा तत्काल नै अध्यादेश प्रस्तुत हुनेछ ।’
प्रवक्ता महतले अध्यादेश, सरकारको स्थितिबारे पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले जानकारी गराएको बताए । विचाराधीन विधेयक संसद्बाट छिटो पारित गर्नेबारे छलफल भएको पनि महतले जानकारी गराए ।