
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने माथिको थुनछेक बहस आज पनि जारी रहने भएको छ ।
गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको हो ।
शुक्रबार बहस नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
शुक्रबारसम्म सरकारी वकिलको तर्फबाट बहस सकिएको छ । लामिछानेको तर्फबाट केही वकिलको बहस गर्न बाँकी छ ।
लामिछाने तर्फका वकिलको बहस सकिएपछि सरकारी वकिल र जाहेरवाला तर्फका वकिलले जबाफी बहस गर्नेछन् ।
त्यसपछि न्यायाधीशले थुनछेक आदेशमार्फत रविलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने आदेश सुनाउने छन् ।
बहस सकिए सम्भवतः आज नै फैसला आउने छ ।
सुप्रिम सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको छ।