
आज ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवस नेपालमा पनि मनाइँदै छ ।
दिवसको अवसरमा भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भन्सार राजस्वको लक्ष्य र उपलब्धिबीच ठूलो खाडल रहेको देखाएको छ ।
पछिल्ला पाँचवटा आव २०७६- ७७ यता एउटा आर्थिक वर्षमा मात्रै लक्ष्यअनुसार भन्सार राजस्व संकलन भएको विभागले जनाएको छ ।
२०७६- ७७ मा चार खर्ब ७३ अर्ब रुपैयाँ भन्सार राजस्वको लक्ष्य लिएकामा जम्मा तीन खर्ब पाँच अर्ब रुपैयाँ सङ्कलन भएको थियो । आव २०७७- ७८ मा भने चार खर्ब ४० अर्ब रुपैयाँको लक्ष्य रहेकामा तीन अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको थियो ।
यस्तै आर्थिक वर्ष २०७८- ७९ मा लक्ष्यको साढे ९५ प्रतिशत, २०७९- ८० मा ५८ दशमलव चार प्रतिशत र आर्थिक वर्षमा २०८०- ८१ मा लक्ष्यको जम्मा साढे ६७ प्रतिशत मात्रै भन्सार राजश्व सङ्कलन भएको छ । चालू आर्थिक वर्षको छ महिनामा पनि कुल लक्ष्यको झन्डै ८१ प्रतिशत मात्रै भन्सार राजश्व सङ्कलन भएको छ ।
भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भन्सार प्रशासनले आधुनिक सूचना प्रविधिको प्रयोग गरेर जाँचपास सहज बनाउने प्रयत्न गरेको बताएका छन् । यसबाट अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरण भएर भन्सार राजस्व बढ्न सक्ने उनको भनाइ छ ।