महोत्तरी, माघ १४ :

सरस्वती पूजा नजिकिँदै जाँँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निजी विद्यालय, कोचिङ सेन्टर, ट्युसन सेन्टर, क्लब, पुस्तकालयसहित गाउँ तथा नगरका विभिन्न चोकचोकमा सरस्वती पूजाका लागि मूर्तिकारलाई मूर्ति बनाउन भ्याइनभ्याई छ ।

आफ्नो चार पुस्तादेखि मूर्ति बनाउने पेसा चल्दै आएको एकडारा गाउँपालिका- ५ का मूर्तिकार सुभाष पण्डितले सरस्वती पूजाका बेला अत्यधिक मूर्तिको माग हुने गरेको कारण अहिले भ्याइनभ्याई भएको बताए ।

त्यस्तै पूजाको अब १० दिन मात्र बाँकी हुँदा औरही नगरपालिका- २ का कैलाश रामलाई पनि मूर्ति बनाउन भ्याइनभ्याई छ ।
 
सरस्वतीको मूर्ति बनाउनमै व्यस्त जलेश्वर नगरपालिका- २ का विकाऊ पासवान पनि मूर्ति बनाउन चाहिने माटो, खर (पराल, भुस) रङ, जुटलगायत वस्तुको जोहो गर्नु, घामपानी र वातावरणअनुसार मूर्ति बनाउनु जस्ता क्रियाकलाप गर्नुपर्ने भएकाले मूर्तिकारलाई अहिले भ्याइनभ्याई भएको बताउँछन् । 

“घाम उदाएपछि मात्रै मूर्ति सुक्ने र मूर्ति सुकेपछि मात्रै राम्ररी रङ्ग रोगन गर्न मिल्ने भएकाले जति बढी घाम उदाउँछ, त्यति नै बढी मूर्ति तयार गर्नु पर्छ”, मूर्तिकार पण्डितले भने। उनले आफू र आफ्ना बुवा शम्भु पण्डित मिलेर प्रत्येक वर्ष ५० हजारभन्दा बढीका सरस्वती मूर्ति बनाउने गरेको बताए । 
    
त्यसैगरी मूर्तिकार कैलाश पनि आफू तथा आफ्ना परिवारका सदस्य मिलेर वर्षेनी ६० देखि ७० वटासम्म मूर्ति बनाउने गरेको बताए । 

आफ्नो क्षमता र साधन श्रोतले तयार गर्ने सङ्ख्याका अनुसार उनीहरूको आम्दानी पनि फरक फरक हुने गरेको छ । 

यसरी तयार गरेका मूर्तिहरू दुई हजारदेखि सात हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको मूर्तिकार बताउँछन्