उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जीडीपी वृद्धि गर्न अध्यादेश ल्याएको दाबी गरेका छन् ।
विश्व भन्सार दिवसका अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकार सरकारहरुको सूचीमा अर्को एक थान सरकार थप्नका लागि नबनेको बताए ।
‘अहिलेको सरकार सरकारहरुको सूचीमा अर्को एक थान सरकार मात्रै होइन, सरकार मुलुकमा चाहिन्छ, त्यस कारणले यो सरकार छ भन्नका लागि मात्रै होइन । यो सरकार विशेष परिस्थितिमा बनेको छ, विशेष अभिभारा पूरा गर्न बनेको छ । यो सरकारले जुन अभिभारा आफ्नो काँधमा लिएको छ,’ अर्थमन्त्री पौडेलले भने, ‘त्यसबाट पछि छुट्ने छुट यो सरकारलाई छैन । समस्त निजामती प्रशासन, भन्सार प्रशासन पनि सरकारको एउटा महत्त्वपूर्ण अंग हो । त्यसकारण यहाँहरुले आफ्नो जिम्मेवारीलाई महत्त्वका साथ पूरा गर्नुस् ।’
उनले सरकार विशेष परिस्थितिमा बनेको उल्लेख गर्दै सरकारले आफ्नो अभिभारा पूरा गर्ने धारणा राखे । उनले निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशहरुलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरु सरकारले आगामी दिनमा पनि अघि बढाउने बताए । ‘अहिले निजी क्षेत्रका साथीहरुले सरकारले अघि सारेका अध्यादेशलाई बढो प्रशंसा गरिरहनुभएको छ । त्यसलाई उहाँहरुले सकारात्मक रुपमा व्याख्या र विश्लेषण गरिरहनुभएको छ,’ पौडेलले भने ।
सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरु अन्तिम नभएको र आगामी दिनमा अझ बढी काम गर्दै जाने उनको भनाइ छ । निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्नुपर्ने दायित्व सरकारसँग रहेको पनि अर्थमन्त्री पौडेलले बताए ।
‘म भन्न चाहन्छु, यो हामीले अहिले चालेको कदमहरु अन्तिम कदम होइनन् । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन, उत्पादन, उत्पादकत्व वृद्धि गर्न, जिडिपी वृद्धि गर्नका निम्ति हामीले चालेको यो अन्तिम कदम होइन । सरकारले चालेको यो अन्तिम कदम होइन । यो एउटा कदम हो । अध्यादेशका माध्यमबाट कानुन संशोधनको क्षेत्रमा यो कदमहरु चाल्यौँ । यस्ता कदमहरु हामी अनेकपटक चालिरहन्छौँ । यो जुन प्रकारको निराशा, शिथिलता, हतोत्साही मनोविज्ञान यो सरकार बन्दाको अवस्थामा प्राप्त गरेका थियौँ, त्यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नुपर्छ,’ उनले भने, ‘निराशालाई आशामा बदल्नुपर्छ । अविश्वासलाई विश्वासमा बदल्नुपर्छ । शिथिलतालाई क्रियाशीलता र गतिशीलतामा बदल्नुपर्छ । हामीले नै अर्थतन्त्र चलायमान र गतिशील बनाउने हो । हरेक नागरिकलाई सुखी र समृद्ध जीवनको प्रत्याभूति गर्ने हो भन्ने अठोटका साथमा सरकार क्रियाशील छ ।’
उपप्रधानमन्त्री पौडेलले राजस्व संकलनमा सहयोगी भूमिका निर्वाह गर्न निजी क्षेत्रलाई आग्रह गरे । राजस्व चुहावट, अनियमितताका प्रवृत्तिलाई निरुत्साहित गर्न, वैधानिक प्रणालीभित्र आफ्ना कारोबार सञ्चालन गर्न निजी क्षेत्रका छाता संगठनले आफ्ना सदस्यहरुलाई निर्देशित गर्न आग्रह गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपति पौडेलले गुरू पुरोहितको हातबाट शुभ साइतमा टीका ग्रहण गर्ने
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी
सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनबाट राहत सामग्री