काठमाडौं, माघ १४ :

कामना सेवा विकास बैंकले नौ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ ।

बैंकले अंकित मूल्य एक सय रुपैयाँमा ३५ लाख कित्ता अर्थात् ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । अग्राधिकार सेयर परिपत्र विधिबाट निष्कासन गर्न बैंकले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

बैंकको पूरक पुँजी बढाउने उद्देश्यले जारी गर्न लागेको वार्षिक नौ प्रतिशत लाभांश दर भएको (असञ्चिति) अग्राधिकार सेयर अविमोच्य अवधि भएका कारण भुक्तानी अवधि तोकिएको छैन ।

निष्कासनसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।