काठमाडौं, माघ १४ :

रुपन्देही र बारामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । घाइतेको गण्डक अस्पताल वीरगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ६ स्थित सडकमा लु.१क १९४० नम्बरको स्काभेटर र लु.४प ३९६६ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

दुर्घटना आइतबार बिहान भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका ३, पडरिया बस्ने २८ वर्षीय मोहम्मद अजिम मुसलमानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सख्त घाइते भएका उनको सिटी अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो । स्काभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै बाराको आदर्शकोतवाल गाउँपालिका ६, लौकाहास्थित सडकमा बीआर ३० एजे ३५२७ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको पिकअपले आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक भारत बिहार बैरगनियाका २५ वर्षीय साहेब पण्डितको मृत्यु भएको छ ।

दुर्घटनामा सख्त घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा यात्रारत एकजनाको भने गण्डक अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

हाल फरार पिकअप र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।