प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका सभापति सहितको टोलीले लुम्बिनी भ्रमण गरेका छन् ।
समितिका सभापति सन्तोष चालिसेको नेतृत्वमा आइतबार गएको प्रतिनिधिसभा सदस्यले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरी लुम्बिनीको विकासबारे चासो राखेका हुन् ।
भ्रमणपछि अर्थसमितिका सदस्य सूर्य थापाले लुम्बिनी विश्वका बौद्धमार्गी र शान्तिकर्मीको पवित्र तीर्थस्थल भएकाले यसको विकासका बारेमा आफूहरुले चासो राखेको बताए । उनले लुम्बिनी गुरुयोजनाको ८८ प्रतिशत काम पूरा भएको तर बाँकी रहेको कामका लागि बजेट अभावका विषयमा आफूहरूले ध्यान दिने बताए ।
उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी गुरुयोजनाको बाँकी काम, लुम्बिनी क्षेत्रमा भइरहेका पछिल्ला गतिविधिबारे अर्थ समितिका सांसदलाई जानकारी गराएका थिए ।
लुम्बिनीको पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वबारे जानकारी गराउँदै लुम्बिनीलाई पछिल्ला वर्षमा बजेटमा भएको कटौतीका बारेमा समेत ध्यानाकर्षण गराएको शाक्यले बताए ।
सांसदहरुले मायदेवीको दर्शन, पवित्र पुष्करणीपोखरी, अशोकस्तम्भ, केही विहार क्षेत्रहरूको भ्रमण गरेका थिए ।