तनहुँ, माघ १५ :

गण्डकी प्रदेश सरकारले स्थानीय भाषा संरक्षण गर्न कामकाजका भाषामा समावेश गर्ने नीति लिएको छ । 

यसका लागि तनहुँको व्यास नगरपालिकाले  सामुदायिक विद्यालयमा मगर भाषा कक्षा सञ्चालन गर्ने उद्देश्यले प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण थालेको छ ।     

प्रदेश सरकारले मगर र गुरुङ भाषालाई कामकाजको भाषा बनाउने नीति लिएसँगै नगरपालिकाले मगर भाषाको संरक्षणको निम्ति प्रशिक्षक उत्पादनमा जुटेको हो । 

नगरपालिकाले मगर विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा अतिरिक्त कक्षाको रूपमा मगर भाषामा पठनपाठन गर्ने तयारी गरेको छ । मगर भाषाको पाठ्यक्रम कार्यान्वयनमा ल्याउन नगरपालिकाको सहयोगमा शिक्षकलाई प्रशिक्षण दिइरहेको छ । 
    
नेपाल मगर सङ्घ व्यास नगर समितिको आयोजना र व्यास नगरपालिकाको सहयोगमा शनिबारदेखि पाँच दिने मातृभाषा प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण सञ्चालन जारी छ । 

तालिम लिएपछि मातृभाषा शिक्षकले विद्यालयमा मगर भाषाको पाठ्यक्रमअनुसारको पठनपाठन गराउने छन् । पठनपाठनमा सहज बनाउन मगर भाषामा कक्षा सञ्चालन गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।