
९६औं एकेडेमी अवार्ड (अस्कर) मा नेपालबाट सिफारिस भएको चलचित्र ‘हल्कारा’ नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ । अब यसलाई विश्वभरबाट हेर्न सकिन्छ ।
गत वर्ष नेपालमा रिलिज भएको यो चलचित्र उत्कृष्ट समीक्षा प्राप्त गरेकोमध्ये एक हो । यो चलचित्रले संयुक्त राज्य अमेरिकाको लस-एन्जलसमा आयोजित एसियन वर्ल्ड फिल्म फेस्टिभलमा छनोट भएको थियो भने ५५औँ वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट चलचित्रसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड जितेको थियो ।
हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केही अन्तर्राष्ट्रिय महोत्सवहरूमा समेत सहभागिता जनाएको छ । नेपाल अमेरिका इन्टरनेसनल फिल्म फेस्टिभल २०२२ मा ‘बेस्ट लङ न्यारेटिभ फिल्म’ बनेको थियो भने फ्लिकर रोड आइल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल २०२२ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यस्तै, यूकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो ।
महेश त्रिपाठी र विनीता थापामगरको प्रमुख अभिनय रहेको ‘हल्कारा’ लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गरेका छन् ।
महेश र विनीताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्रीलगायतको अभिनय छ । यो चलचित्र कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो । यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्युजिक रहेको छ । प्रोडक्सन साउन्ड ज्योति रानाको रहेको छ । कलरिस्ट लियोनार्डो क्यानेडियन हुन् ।