कास्की, माघ १५ :

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटी माग्ने जिल्ला अदालत कास्कीको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका दिएका छन् ।

सहकारीको मुद्दामा एक पछि अर्को अदालतले धरौटीमा छुट्न ठुलो रकम माग्न थालेपछि रवि सामान्य तारिखमा मुद्दाको पुर्पक्ष गराउन माग गर्दै सोमबार उच्च अदालत पोखरामा निवेदन दिएका हुन् । उनको निवेदन ७३ नम्बरमा दर्ता भएको छ। न्यायाधीशले धरौटी माग गर्ने आधार र प्रमाण नै बेरितको दाबी गर्दै रविले बदर गर्न माग गरेका छन्।

निवेदन बुझाएपछि सञ्चारकर्मीले प्रतिक्रिया माग्दा उनका वकिलले जवाफ दिएका थिए । धरौटी माग गर्ने जिल्लाको आदेश नै त्रुटिपूर्ण रहेको दाबी गरेका छन् । 
लामिछानेले आफू बेला आएपछि मात्रै बोल्ने अहिले बोल्ने बेला नभएको बताए।  न्यायाधीश नीतिज राईको इजलासले २५ पुसमा ६५ लाख रुपैयाँ धरौटी मागेको थियो ।सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा  रविलाई करिब २८ करोड रुपैयाँ बिगो माग दाबी गर्दै अभियोजन दर्ता भएको थियो ।

सहकारीबाट ऋण लिन आफू उपस्थित नभएको र  कुनै प्रकारको संलग्नता नरहेको पुष्टि नभएको रविले उच्चमा दिएको निवेदनमा उल्लेख गरेका छन्  ।

जिल्ला अदालत कास्कीको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पनि यसअघि नै उच्च अदालत पोखरामा निवेदन दर्ता गराएको छ। धरौटीमा छाडेका सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको थियो।

उच्च अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले धरौटीमा छाड्नुको कारण १५ दिनभित्र पेश गर्न कैफियत प्रतिवेदन माग गरेको छ।