काठमाडाैं, माघ १५ :

सत्ता साझेदार दलहरु अध्यादेशबारे संसदमा एक भएर प्रस्तुत हुने भएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्ता साझेदार दलहरुको बैठकले संसद्का एजेण्डाहरुमा एकमत हुने निष्कर्ष निकालेका हुन् । साथै बैठकले  यथाशीघ्र संसदबाट प्रतिस्थापन विधेयक ल्याएर पारित गर्ने निष्कर्षसमेत निकालेको छ ।

सत्तापक्षीय हिसाबले सशक्त, प्रभावकारी र रचनात्मक रूपमा समान धारणका साथ प्रस्तुत हुने बैठकले निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक बसेको हो ।  बैठकले सरकारको कामकारबाहीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरूलाई संसद्को पहिलो दिनमै पेस गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गरिने बताएका थिए। 

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा ती पार्टीका संसदीय दलका प्रमुख सचेतलगायत सहभागी थिए ।सङ्घीय संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि प्रारम्भ हुँदैछ ।

 

र यो पनि …

हिउँदे अधिवेशन : क्यालेन्डर तयार, पहिलो दिनै अध्यादेश पेस गरिने