काठमाडौं, माघ १५ :

प्रधानमन्त्री केपी ओलीले  नेपाली कांग्रेसबाट आफूले पूरा सहयोग प्राप्त भएको बताएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै ओलीले आफूले पनि कांग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । अबको १७/१८ महिनापछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनेसमेत ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले नेपाली कांग्रेसबाट साथ पाएको छु । कुनै रिजर्भेसनविना पूराका पूरा साथ पाएको छु । भोलि नेपाली कांग्रेसले हामीबाट पूराका पूरा साथ पाउँछ ।’

आफू नेतृत्वको सरकारले विभिन्न राम्रा काम गरेको समेत ओलीले दाबी गरे । दुई ठुला दल मिलेर सरकार चलाउँदा पनि मुलुकले विकासको बाटो लिन नसके जनतामा भयानक निराशा छाउने ओलीको भनाइ थियो ।

‘अब १७/१८ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले चलाउनुहुन्छ । मैले सहयोग गर्छु । नेकपा एमालले पूराका पूरा सहयोग गर्छ । सफल बनाउँछौं,’ उनले भने ।

गत असारमा कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्नेगरी ७ बुँदे सहमति गरेका थिए । जसअनुसार पहिलो चरणमा ओली प्रधानमन्त्री बनेका हुन् । ०८४ सालको निर्वाचन गराउने गरी देउवाले सरकारको नेतृत्व गर्नेछन् ।