काठमाडौँ, माघ १६ :

चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । 

काठमाडौँ उपत्यकाभित्र पहिलोपटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सेवाको थालनी गरेको हो । यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वय र सहकार्यमा नगरपालिकाले कार्यपालिका सदस्य एवं १५ वटै वडाका सचिवलाई आवश्यक तालिम प्रदान गरेको थियो ।

नगरप्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले सोमबार चन्द्रागिरि- १२ बलम्बु निवासी अनुज महर्जन र टिसा श्रेष्ठलाई अनलाइन सिफारिस प्रदान गरेर सेवाको थालनी गरेका हुन् । 

गृह मन्त्रालयका अनुसार पुस मसान्तसम्म २८ जिल्लाका दुई हजार वडाले अनलाइन सिफारिस सुरुआत गरिसकेका छन् । मन्त्रालयले नागरिकता प्राप्ति प्रक्रियालाई थप सहज बनाउने उद्देश्यले वि. सं २०८० देखि नवलपरासीको गैँडाकोटबाट सो सेवा सुरु गरेको थियो भने यो कार्य सबै पालिकाबाट कार्यान्वयनमा आउने जनाएको छ ।

अनलाइन सेवाबाट अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो, किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने बताइएको छ  । 

चन्द्रागिरि नगरपालिकाले सबै वडामा यसै हप्तादेखि नागरिकताको अनलाइन सिफारिस सेवा प्रदान गर्ने जनाएको छ । नगरपालिकाबाट प्रदान गरिने  सेवालाई अनलाइनमार्फत प्रदान गर्ने नीति अनुरुप हाल नक्सापास, राजस्व र पञ्जीकरण सेवा अनलाइनमार्फत भइरहेको छ । 

नगरप्रमुख गिरीले नगरपालिकाले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउँदै जाने नीति लिएको जनाउँदै विद्युतीय हस्ताक्षर (डिजिटल सिक्नेचर) छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिए ।
 
प्रमुख प्रशासकीय अधिकृत अर्यालले नागरिकताको अनलाइन सिफारिस हुँदा नाम, थर, ठेगाना लगायत अन्य  आवश्यक कुरा अशुद्ध हुने समस्या सकेसम्म अन्त्य हुने र सेवाग्राहीले बिनाझन्झट सेवा पाउने जनाउदै नगरपालिकाका अन्य सेवालाई पनि अनलाइनमार्फत प्रदान गरिँदै लगिने बताए ।